काठमाडौं । बैशाख १२ गते (आज) लि:ल फङ (घले समाज) द्वारा वनभोज (पिकनिक) तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंस्थित बालाजु बाइसधारा पार्कको स्टल नं. १ मा बिहान ११ बजेदेखि सुरु भएको थियो।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूको गीत तथा नृत्य प्रस्तुति मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। साथै, विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिँदा सहभागीहरूले मनोरञ्जनसँगै आपसी भाइचारा मजबुत बनाउने अवसर पाएका थिए। आयोजक समितिका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नु रहेको थियो।


यसै अवसरमा वि.सं. २०७२ साल बैशाख १२ गते गएको नेपाल भूकम्प २०७२ को स्मरण पनि गरिएको थियो। पिकनिक कार्यक्रममा सहभागी रहँदा उक्त भूकम्पको सम्झना गर्दै संविधान सभा सदस्य तथा घले समाजका महासचिव धनबहादुर घलेले सो वर्षलाई “ब” अक्षरले धेरै पीडा दिएको वर्षका रूपमा उल्लेख गर्नुभयो।
उक्त दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्न दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।










