धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन् ।
नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगर उपप्रमुख जुना चौधरी सहभागी भएकी थिइन् । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायतको उपस्थिति थियो ।


यसअघि नगर प्रमुख शाहीको अवरोधपछि अस्पताल उद्घाटन रोकिएको थियो । यसपटक पनि उद्घाटन नगर्न आग्रह गर्दै आएकी मेयर शाहीको विरोधका बीच प्रदेश सरकारले कार्यक्रम सम्पन्न गरेको हो ।
सम्भावित अप्रिय घटना रोक्न भन्दै अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो । नगर प्रहरीलाई भने नेपाल प्रहरीले ‘छेकबार’ लगाएको थियो ।
बाक्लो सुरक्षा व्यवस्थाका बीच अस्पताल उद्घाटनपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नगर प्रमुखको अनुपस्थितिप्रति टिप्पणी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका थिए ।
लम्कीचुहा–२ का वडा अध्यक्ष सन्तोषकुमार ओलीले मुख्यमन्त्री शाहको प्रशंसा गर्दै उद्घाटन कार्यक्रम चारैतिर प्रहरी परिचालन गरेर गर्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए ।
‘चारैतिर प्रहरी लगाएर उद्घाटन गर्नुपर्ने अवस्था राम्रो होइन । नगर प्रमुखलाई यहाँ देख्न नपाउनु दुःखद् हो,’ उनले भने, ‘अब विवाद बढाउनु हुँदैन ।’
संघर्ष समितिका संयोजक पारश देवकोटाले नगर प्रमुखले ‘गुण्डा’ परिचालन गरेर अस्पताल उद्घाटन रोक्न खोजेको आरोप लगाए । उनले जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गर्दै अवरोध जारी राखे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
‘जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गर्छु । त्यसो नभए २३ र २४ गतेजस्तो अवस्था दोहोरिन सक्छ,’ उनले भने ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नगर प्रमुखको खोजी गर्दै विवाद नगर्न सुझाव दिएका थिए ।
हिजो राति अस्पताल परिसरमा डोजर, एम्बुलेन्स र ट्याक्टर तेर्साएर कार्यक्रम प्रभावित पार्ने रणनीति बनाइएको भन्दै आज बिहानदेखि बाक्लो सुरक्षा व्यवस्था गरिएको थियो ।
मेयर शाहीले प्रदेश सरकारले जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै विरोध गर्दै आएकी छन् । तर यसअघि उनले नै १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति दिएकी थिइन् ।
संघीय सरकारले सोहीअनुसार लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । तर सम्झौताविनै प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै मेयर शाहीले आपत्ति जनाउँदै आएकी छन् ।
निर्णय रोक्न मेयर शाही सर्वोच्च अदालत पुगेकी थिइन् । तर स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको हो ।










