काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।
उनलाई पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा बयान दिन अख्तियारले बोलाएको हो।
बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेर ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन भनेको छ ।


‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवासमेत भएको राहदानी छपाईसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौँमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ’, सूचनामा भनिएको छ ।
अहिले देउवा दम्पती हङकङमा रहेका छन्। उक्त प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देश तीर्थराज अर्यालसहतिका कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।











