काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–३ मा स्थानीयवासीले पिठो पिस्न टाढासम्म जानुपर्ने समस्याको समाधानका लागि वडा कार्यालयले चार वटा विद्युतीय पिठो मिल वितरण गरेको छ।
वडा कार्यालयले चित्रे, सौरे, जुरे र बाङ्गे टोलका लागि एक–एक वटा गरी चार वटा विद्युतीय पिठो मिल हस्तान्तरण गरेको हो। स्थानीयस्तरमै पिठो पिस्ने सुविधा उपलब्ध गराई नागरिकको समय, श्रम र खर्च बचत गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।


वडा अध्यक्ष सागर जिम्बाले दुर्गम बस्तीका नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यअनुसार विद्युतीय मिल वितरण गरिएको बताउँदै यसको संरक्षण र प्रभावकारी सञ्चालनमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्थानीयवासीले यस कार्यक्रमबाट दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका छन्।










