सिरहा । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव घर पुर्याइएको छ ।
सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिबार साझ ६:२५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शव पुर्याइएको हो ।


घरपरिवारले हिन्दू परम्पराअनुसार आजै गणेशको दाहसंस्कार गर्ने तयारी गरेका छन् । दाहसंस्कार पूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।
गृहमन्त्री र परिवारबिच के–के भयो सहमति ?
बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ मृतकको घर पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका थिए ।
सहमतिअनुसार सरकारले गणेशलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, मृतकका भाइबहिनीलाई नि:शुल्क शिक्षा र बुबाआमालाई सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।
यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका तर्फबाट गणेशका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन् ।











