धनगढी । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित नेकपा एमालेका चार जना मन्त्रीले शुक्रबार शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शुक्रबार दिउँसो शपथ लिएका हुन्। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए।


शपथ लिनेमा सन्तोष शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ल–आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम–आर्थिक मामिला राज्यमन्त्री रहेका छन्।
मुख्यमन्त्री नियुक्त भएका भट्ट नेकपा प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका हुन्।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।










