काभ्रे । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि काभ्रेको महाभारत गाउँपालिका–१ धापस्थित श्री भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।

विद्यालयमा सक्रिय मिलिजुली बाल क्लबको अगुवाइमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर बाढीपीडितका लागि सहयोग गरेका हुन्। विपद्का कारण पीडामा परेका नागरिकहरूको दुःखमा मलम लगाउने उद्देश्यले विद्यार्थीहरूले रकम संकलन गरेका थिए।

मिलिजुली बाल क्लबको तर्फबाट रु. ४ हजार ५ सय ३५ सहयोग गरिएको विद्यालयले जनाएको छ। उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइएको छ।

विद्यार्थीहरूले गरेको सहयोग आर्थिक सहयोग मात्र नभई मानवता, करुणा र सामाजिक उत्तरदायित्वको उदाहरण भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक पूर्ण दास श्रेष्ठले विपद्को समयमा सहयोग गर्ने विद्यार्थीहरूको मानवीय भावना र सामाजिक जिम्मेवारीप्रति धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन्।

विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खाजा खर्चबाट रकम बचाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्नु अनुकरणीय कार्य भएको प्रधानाध्यापक श्रेष्ठले बताए।

विद्यालयले ‘आजको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ’ भन्ने भावनासहित विद्यार्थीहरूको यस पहलले समाजमा सहयोग, सहकार्य र मानवीयताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय