रसुवा । रसुवामा आएको बाढीपहिरोका कारण अभिभावक गुमाएका ८७ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित आर्थिक सहयोग गरिएको छ।
विद्यालयको मागअनुसार केटा केटी नेपाल र मण्डला ट्रेकको सहकार्यमा पूर्वमन्त्री सूर्य मान दोङ ‘लालध्वज’, समाजसेवी भीम गोले तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय कार्यवाहक अध्यक्ष तथा युवा नेता एवं समाजसेवी अविरल जिम्बा, काभ्रेको खानिखोला गाउँपालिका–३ का वडाध्यक्ष सागर लामा, कृष्ण लामा, तेन्जिङ लामा लगायतको टोली विद्यालयमै पुगेर विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेको हो।


टोलीले विद्यार्थीहरूलाई झोला, थर्मस, कापी, कलम, इरेजर, कुट, ज्यामिती बक्स र प्याडलगायतका शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको जनाएको छ।
त्यसैगरी, ८७ जना विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले कुल ४ लाख ३५ हजार रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गरिएको छ।
उक्त सहयोग रकम रसुवागढी गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा गठित समिति, सम्बन्धित वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको जनाइएको छ।
बाढीपहिरोका कारण अभिभावक गुमाएका विद्यार्थीहरूको शैक्षिक निरन्तरता र दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकले जनाएको छ।










