रसुवा । विनाशकारी बाढीपहिरोबाट प्रभावित रसुवाका पीडित परिवारका लागि कदम्बा मोनेस्ट्री (कदम्बा गुम्बा), आरुबारी, काठमाडौं तथा क्याब्जे फुछ्युङ्वा रिन्पोछे टिमले रु. १० लाख बराबरको मानवीय सहायता तथा राहत सामग्री प्रदान गरेको छ।

बाढीपहिरोका कारण धेरै परिवारले घरबार, सम्पत्ति तथा आफन्त गुमाएको अवस्थालाई मध्यनजर गर्दै पीडितलाई तत्काल आवश्यक पर्ने सामग्री सहयोग गरिएको हो।

राहतअन्तर्गत रातिको समयमा उज्यालोका लागि चार्ज गरेर प्रयोग गर्न मिल्ने आपत्कालीन बत्ती तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने ज्वरो, टाउको दुखाइलगायतका प्राथमिक उपचारका औषधि वितरण गरिएको जनाइएको छ।

यसैबीच, विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै कदम्बा गुम्बा तथा रिन्पोछे टिमले मृतकहरूको आत्माको शान्ति र उत्तम गतिको कामनासहित पाठ–पूजा समेत गरेको छ।

बाढीपहिरोबाट प्रभावित परिवारमा धैर्य, शक्ति र शान्ति मिलोस् भन्ने कामना गर्दै पीडितहरूको पुनःस्थापना तथा राहतका लागि सबै पक्षबाट सहयोग र एकताको आवश्यकता रहेकोमा जोड दिइएको छ।

सहयोग अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आयोजक पक्षले क्याब्जे फुछ्युङ्वा रिन्पोछेप्रति विशेष आभार व्यक्त गरेको छ। दुःख र संकटको समयमा मानवताको पक्षमा उभिएर सहयोगको भावना अघि बढाउनु समाजका लागि प्रेरणादायी रहेको जनाइएको छ।

बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारको जीवनमा पुनः शान्ति, सुरक्षा र उज्यालो दिन फर्कियोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय