काठमाडौं । चलचित्र पत्रकार सङ्घ सदस्य रीना मोक्तानले सङ्घले प्रदान गर्ने ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ नलिने घोषणा गरेकी छिन् ।
उनले आयोजक समितिका एक पदाधिकारीले करिब पाँच वर्षअघि आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै तिनै व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी हुन् ।
मोक्तानले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् :
पुरस्कार नलिने सम्बन्धमा
गत जेठ ७ गते चलचित्र पत्रकार सङ्घ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो, पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ । मेरो कामको मूल्याङ्कन गरिदिएकामा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ–सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ ।
महिलालाई आफू यौन हिंस पीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर, आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्टाटस लेखेको हुँ । यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाईजस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ, विशेषगरी चलचित्र क्षेत्रमा । र, यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ ।
उनको यस्तो भनाइ आएपछि सङ्घले छानविन समिति गठन गरेको छ । सङ्घले मोक्तानले अभिव्यक्त गरेको विषयमा छानविन गर्न कार्य समिति सदस्य सुरक्षा भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेको जनाएको छ ।