काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए ।

एन्फा बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

घटनाबारे छानविन गर्न गठित छानविन समितिले समेत प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन तयार पारेको थियो ।

खेलाडी प्रशिक्षकको घटना एन्फा चुनावमा मुख्य एजेण्डा बनेको थियो । निर्वाचित भए लगत्तै खेलाडीको मुद्धालाई सम्बोधन गर्ने प्रतिबद्धता वर्तमान नेतृत्वले जनाएको थियो ।

एन्फा पहिलो बैठकले खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई आवश्यक निर्देशन दिएको छ ।

बैठकले संघको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाडेलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय