काभ्रे । विदेशमा रहेका नेपालीहरूले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि रु. ४३ हजार २६ रुपैयाँ सहयोग संकलन गरेका छन्।
नमोबुद्ध नगरपालिका–११ का नरेश लामा र मलेसियामा रहेका हिरा तामाङको पहलमा ‘Hoster Lama’ टिकटक लाइभ ग्रुप–६६ मार्फत सहयोग अभियान सञ्चालन गरिएको हो।


नरेश लामाको होस्टिङमा भएको लाइभमा जापान, मलेसिया लगायत विभिन्न देशमा रहेका नेपाली सहभागी भएका थिए। लाइभमार्फत संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अभियानमा संलग्नहरूले बताएका छन्।
रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट जनधन प्रभावित भइरहेका बेला पीडितलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नरेश लामाले बताए।
उनका अनुसार मनोरञ्जनका लागि प्रयोग हुँदै आएको टिकटकलाई सामाजिक सेवासँग जोड्दै ‘सानो सहयोगले पनि ठूलो राहत जुटाउन सकिन्छ’ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको हो।
यसअघि पनि सोही अभियानमा आबद्ध कामदारहरूबाट रु. २० हजार संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताइएको छ।
अभियानमा हिरा तामाङ, नरेश लामा, अन्जना तामाङ, प्रवेश मण्डल, बिपना स्याङ्तान, विजय वाइबा, रेनु गुरुङ, शिव मगर, हिरामाया तामाङ, मालती, ग्याल्मो बोम्जन, अन्जुमाया तामाङ, सबी तामाङ, साना तामाङ, नानुमाया तामाङ, गीता लामा, फरिदा खातुन राई र गीता शामत लगायत सहभागी थिए।
अभियानमा संलग्नहरूले आगामी दिनमा पनि विपद् प्रभावित तथा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग गर्ने बताएका छन्।










